काठमाडौं । गोल्छा अर्गनाइजेसनअन्तर्गत नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले आफ्नो विद्युतीय एसयूभी लिपमोटर सी१० (२०२६ मोडल) का लागि विशेष मूल्य घोषणा गरेको छ।
कम्पनीका अनुसार सी१० को विशेष मूल्य ७५ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ। यो विशेष मूल्यपश्चात् सी१० को मूल्य ७७ लाख ९९ हजार रुपैयाँ हुने कम्पनीले जनाएको छ।
२०२६ मोडलको सी१० मा स्मार्ट कनेक्टिभिटीका नयाँ सुविधाहरू थपिएका छन्। यसमा आधिकारिक लिपमोटर एपसँगै एप्पल कारप्ले र एन्ड्रोइड अटो सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ।
नेपालमा लिपमोटरको सबैभन्दा बढी बिक्री हुने तथा ग्राहकको रोजाइमा परेको मोडलका रूपमा सी१० लाई प्रस्तुत गरिएको छ। सेल–टु–चेसिस (सीटीसी) प्रविधिमा निर्माण गरिएको यस विद्युतीय एसयूभीमा १६० किलोवाटको विद्युतीय रियर ह्विल ड्राइभ मोटर जडान गरिएको छ। कम्पनीका अनुसार यसले एकपटक पूर्ण चार्जमा ५३० किलोमिटर (सीएलटीसी) सम्मको रेन्ज दिन्छ भने यसको ग्राउन्ड क्लियरेन्स १९० मिलिमिटर रहेको छ।
सी१० को भित्री भागमा १४.६ इन्चको केन्द्रीय टचस्क्रिन,१०.२५ इन्चको डिजिटल ड्राइभर डिस्प्ले तथा २.१ वर्गमिटरको प्यानोरमिक ग्लास रूफ रहेको छ। त्यस्तै, एल२ एडीएएस सुरक्षासुविधा तथा प्रिमियम लेदरेट सिटले यात्रालाई थप आरामदायी बनाउने कम्पनीको दाबी छ। सांग्रिला मोटर्सले सी१० प्रति ग्राहक तथा अवलोकनकर्ताले देखाएको विश्वास र सहयोगप्रति आभार व्यक्त गरेको छ।
कम्पनीका अनुसार लिपमोटर विश्वप्रसिद्ध अटोमोटिभ समूह स्टेलान्टिससँगको विश्वव्यापी सहकार्यमा सञ्चालित चीनको प्रमुख स्टार्टअप नयाँ ऊर्जा सवारीसाधन ब्रान्ड हो। स्टेलान्टिसअन्तर्गत माजेराटी,अल्फा रोमियो र प्युजोसहित १४ वटा विश्वप्रसिद्ध ब्रान्ड रहेका छन्।
लिपमोटरले हालसम्म विश्वभर १६ लाखभन्दा बढी सवारीसाधन बिक्री गरिसकेको कम्पनीले जनाएको छ। जुलाई महिनामा मात्रै एक लाखभन्दा बढी युनिट बिक्री भएको र विश्वका ५० भन्दा बढी देशमा एक हजार ७०० भन्दा बढी बिक्री तथा सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको कम्पनीको भनाइ छ।















प्रतिक्रिया दिनुहोस्