काठमाडौं। लक्ष्मी सनराइज बैंक लिमिटेडले आगामी मंसिर २५ गते २६औँ वार्षिक साधारणसभा बोलाएको छ।
बैंकको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न सभा बोलाएको हो । सभा काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवनमा बिहान १० बजे सुरु हुनेछ।
बैंकले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांशमा हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश समावेश छ। प्रस्तावअनुसार बैंकले ५ प्रतिशतका दरले १ करोड ३३ लाख ९० हजार ५८१ दशमलव ७३ कित्ता बोनस शेयर जारी गर्नेछ। यसको रकम १ अर्ब ३३ करोड ९० लाख ५८ हजार १७३ रुपैयाँ बराबर हुन्छ। त्यस्तै, बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ६ करोड ९६ लाख ३१ हजार २५ रुपैयाँ नगद लाभांश वितरण गरिनेछ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ।
साधारणसभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ। साथै, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ ।
मंसिर १४ गते बुक क्लोज
साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले मंसिर १४ गते एक दिन शेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ। यसअनुसार मंसिर १३ गतेसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहेका शेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्न तथा साधारणसभामा सहभागी हुन सक्नेछन्। बैंकको हाल कायम चुक्ता पुँजी २६ अर्ब ७८ करोड ११ लाख ६३ हजार ४५८ रुपैयाँ रहेको छ। प्रस्तावित ५ प्रतिशत बोनस शेयर वितरणपछि बैंकको चुक्ता पुँजी थप वृद्धि हुनेछ।














प्रतिक्रिया दिनुहोस्