काठमाडौं । एसियन क्लियरिङ युनियन (एसीयू) को सन् २०२६/२७ का लागि अध्यक्षता नेपालले प्राप्त गरेको छ । काठमाडौंमा नेपाल राष्ट्र बैंकको आयोजनामा सम्पन्न एसीयूको सञ्चालक समितिको ५४औँ बैठकले संस्थाको नेतृत्व नेपाललाई हस्तान्तरण गर्ने निर्णय गरेको हो ।
नोभेम्बर १७ मा स्थायी प्राविधिक समितिको बैठक र नोभेम्बर १८ मा सञ्चालक समितिको बैठक सम्पन्न भएको थियो । बैठकमा भारतीय रिजर्भ बैंकका गभर्नर सञ्जय मल्होत्रासहित सदस्य राष्ट्रका केन्द्रीय बैंकका उच्च अधिकारी, पर्यवेक्षक तथा एसीयू सचिवालयका प्रतिनिधिहरूको सहभागिता थियो ।
अध्यक्षताको जिम्मेवारी ग्रहण गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले एसीयूको उद्देश्य र क्षेत्रीय वित्तीय सहकार्यप्रति नेपालको प्रतिबद्धता व्यक्त गरे । सदस्य राष्ट्रहरूबीच आफ्नै राष्ट्रिय मुद्रा प्रयोग गरी भुक्तानी गर्ने प्रणालीले बाह्य क्षेत्रको स्थायित्व मजबुत बनाउन सहयोग पुग्ने उनको भनाइ थियो । गभर्नर पौडेलले एसीयूको प्रत्येक दुई महिनामा हुने खुद भुक्तानी फर्छ्योट प्रणालीले सदस्य राष्ट्रहरूलाई अन्तरदेशीय भुक्तानीका क्रममा उत्पन्न हुन सक्ने कठिनाइबाट जोगाउँदै वित्तीय सुरक्षाकवचको भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
बैठकमा भारतीय रिजर्भ बैंकका गभर्नर सञ्जय मल्होत्राले निर्बाध, सुरक्षित र प्रभावकारी सीमापार भुक्तानी तथा फर्छ्योट प्रणाली विकासमा एसीयूको भूमिका महत्त्वपूर्ण रहेको बताए । उनले संस्थाको संस्थागत क्षमता र कार्यसम्पादन थप प्रभावकारी बनाउन सदस्यता विस्तारलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । बैठकले एसीयू महासचिवको प्रतिवेदन ग्रहण गर्नुका साथै नोभेम्बर १७ मा सम्पन्न स्थायी प्राविधिक समितिका सिफारिसहरू अनुमोदन गरेको थियो। यस क्रममा सदस्य राष्ट्रका सञ्चालक, वैकल्पिक सञ्चालक तथा पर्यवेक्षकहरूले आ–आफ्नो देशको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी संक्षिप्त प्रतिवेदन प्रस्तुत गरेका थिए । बैठकमा ‘डिजिटल अर्थतन्त्र र सीमापार क्षेत्रीय सहकार्यको मार्गचित्र’ विषयमा समेत छलफल भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
एसीयूको आगामी नेतृत्वका लागि सन् २०२७/२८ मा सेन्ट्रल बैंक अफ म्यानमारलाई अध्यक्ष र भारतीय रिजर्भ बैंकलाई उपाध्यक्ष चयन गरिएको छ । समितिको अर्को बैठक सन् २०२७ जुनमा म्यानमारको राजधानी नेपिडोमा आयोजना गर्ने निर्णयसमेत भएको छ । बैठकको समापन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा। डिल्लीराम पोख्रेलले गरेका थिए । त्यसपछि आयोजित विशेष समारोहमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले एसीयूले पाँच दशकभन्दा लामो समयदेखि क्षेत्रीय भुक्तानी प्रणालीलाई व्यवस्थित र सहजीकरण गर्न पुर्याउँदै आएको योगदानको प्रशंसा गरे । उनले विश्वव्यापी आर्थिक तथा भूराजनीतिक अनिश्चितताबाट उत्पन्न चुनौती सामना गर्न संस्थागत पारदर्शिता, सहकार्य र सदस्य राष्ट्रबीचको आपसी विश्वास अपरिहार्य रहेको बताए ।
सन् १९७४ मा स्थापना भएको एसियन क्लियरिङ युनियनको सचिवालय इरानको तेहरानमा रहेको छ । सदस्य राष्ट्रबीचको अन्तरदेशीय भुक्तानी कारोबारलाई व्यवस्थित, सहज र प्रभावकारी बनाउने उद्देश्यले स्थापित यस संस्थामा बङ्गलादेश, भुटान, भारत, इरान, माल्दिभ्स, म्यानमार, नेपाल, पाकिस्तान, मौरिसस, बेलारुस र श्रीलङ्काका केन्द्रीय बैंक आबद्ध छन् । नेपालले एसीयूको अध्यक्षता प्राप्त गर्नुलाई क्षेत्रीय वित्तीय सहकार्यमा नेपालको भूमिका थप विस्तार गर्ने अवसरका रूपमा हेरिएको छ। आगामी कार्यकालमा सदस्य राष्ट्रबीच राष्ट्रिय मुद्रामा हुने कारोबार, सीमापार भुक्तानी प्रणालीको प्रभावकारिता र संस्थागत सहकार्यलाई थप सुदृढ बनाउने विषय नेपालको प्राथमिकतामा रहने अपेक्षा गरिएको छ ।














प्रतिक्रिया दिनुहोस्